प्रवासको नेपाली पत्रकारीता र प्रवासी नेपाली पत्रकार संजाल
![]() |
| Delivering the proposal of ENJN |
कुमार कार्की
प्रवासी नेपाली होस् या गैर आवासिय नेपाली जुन नामले चिनिए पनि हाम्रो उपस्थिति वास्तविकतामा एउटा नेपालीको पहिचानको रुपमा रहेको छ । नेपालको माया, नेपाली अनुभुति, नेपाली संस्कृति, नेपाली रहनसहन आदिको प्रचार प्रसार होस् या यसको जगेर्नाका लागि प्रवासमा रहेका नेपालीहरुको भुमिका अत्यन्त महत्वपुर्ण रहेको उदाहरणहरु हामी सामु छर्लङ्ग नै छ ।
प्रवासमा रहेका ३० लाख भन्दा वढि नेपालीहरुले विभिन्न क्षेत्रमा संगठित भएर कार्य गर्नलाई, समस्या समाधान गर्न तथा सस्कृति परम्पराको जगेर्ना गर्न, सामुहिक रुपमा चाडवाड मनाउन तथा व्यवसायिक रुपमा कार्य गरिरहेका छन् । तिनै संगठित स्वरुपहरुका कारण आज प्रवासमा रहेका नेपालीहरुले सामाजिक, व्यवसायिक, पेशागत, राजनितिक, धार्मिक, भाषिक, साँस्कृतिक स्वरुपका विभिन्न संघ, संगठनहरुको निर्माण गरेका छन् र प्रवासमा पनि नेपाली साँगठनिक गतिविधिहरु मौलाएका छन् । विश्वभरिका नेपालीहरुले आफु रहेको देश वा शहरमा गठित यस्ता संघ संस्थाहरुका गतिविधीहरुलाई संचार माध्यमसम्म लैजान तथा प्रचार प्रसारका लागि विभिन्न मुलुकमा विभिन्न किसिमका नेपाली मिडियाहरुको विकास भएको छ । नेपाली साँगठनिक गतिविधि वढ्दै जाँदा प्रवासमा नेपाली पत्रकारिताको विकासले पनि गति लिएको हामी सामु स्पष्ट छ । विभिन्न अनलाईन वेभपत्रिका, छापा पत्रिका, टेलिभिजन, अनलाईन रेडियो तथा टेलिभिजन आदिले समाचार सम्पे्रषण तथा सेवा विस्तार गरिरहेका छन् ।
प्रवासमा नै कार्यरत नेपालीहरुको सकृयतामा स्थापित संचार गृहहरु तथा नेपालका प्रतिष्ठित संचार गृहहरुले पनि प्रवासमा रहेका नेपालीहरु विचमा संचार उद्यम गर्ने उद्धेश्यका साथ आफ्ना संचार गृहहरुको विस्तार गर्न थालेका छन् । विभिन्न संचार माध्यममा संलग्न रहि नेपालमा पत्रकारिता गरेर होस् या प्रवासमा नै आएर पत्रकारिताको शुरु गरेका नेपाली पत्रकारहरुको अनुमानित आँकडा करिव १५ सयको हाराहारिमा रहेको छ जो अहिले पनि प्रवासवाट नेपाली पत्रकारितामा तल्लिन रहेका छन् । समाजको ऐनाको रुपमा चिनिएको नेपाली पत्रकारिताले विदेशपनि मौलाउने अवसर पाईरहेका वेला नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका प्रवास सम्पर्क शाखाहरुपनि विस्तार हुन थालेका छन् । हाल करिव ९ देशमा गठित प्रवास शाखाहरुमा आवद्ध पत्रकारहरुले नेपाली पत्रकारितालाई संगठित रुपमा अघि वढाउन मद्दत गरिरहेका छन् ।
विषय प्रसँगलाई जोड्नुपर्दा प्रवासमा कार्यरत नेपाली पत्रकारहरु विभिन्न देशमा संगठित हुने क्रम वढिरहेका वेला विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरुको साझा फोरम निर्माण गर्नका लागि एउटा प्रयासको थालनी अक्टुवर २००९ वाट भएको छ । नेपाल पत्रकार महासंघको छाता मुनि रहने गरेर निर्माण गरिएको प्रवासी नेपाली पत्रकार संजाल विधिवत रुपमा १२ अक्टुवर २००९ मा स्थापना भई विभिन्न देशमा कार्यरत नेपाली पत्रकारहरुलाई यसमा समाहित गर्ने प्रयास भईरहेको छ । नेपाली पत्रकारिताको ईतिहासमा यो एउटा पहलकदमी कामको रुपमा लिईएको छ । विश्वभरीका नेपाली पत्रकारहरुलाई एउटै छातामुनि ल्याउने प्रयास स्वरुप गत ११ अक्टुवर २०१० मा काठमाँडौंमा सम्पन्न विश्व सम्मेलनद्धारा गठित तदर्थ कार्यसमितिले कार्य गरिरहेको छ ।
कुनै पनि नयाँ कामको शुरुवात गर्नलाई कठिन नै हुन्छ तथापी ति कठिनाईहरुको सामना गर्दै अगाडि वढ्नुपर्दछ । विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरुलाई यो अभियानमा सामेल गर्नुपनि एउटा चुनौति हो र त्यो चुनौतिलाई वर्तमान कार्यसमितिले सामना गर्दै नेपाली पत्रकारहरुको हकहित, व्यवसायिक सुरक्षा आदिमा निरन्तर प्रयास गर्दै भोलीका दिनमा एउटा परिपक्व संस्थाको रुपमा अघि वढ्नेछ । संस्थामा आवद्ध हुन वा गराउनका लागि पहल गरिरहँदा पनि यस्ता अनेकौं चुनौतीहरु आउने गर्दछन् । हाल प्रवासमा रहेका नेपालीहरुले संस्था खोल्नु वा खोलेका संस्था विना उपलव्धि निस्किृय हुँदै जाने प्रचलन एउटा मोडेल जस्तो भएको छ । यसका मुख्य कारणहरु संस्थाप्रति सम्वन्धित क्षेत्रका प्रतिनिधीहरुको चासो नहुनु, प्रभावकारी कार्यक्रमहरु ल्याउन नसक्नु, सम्वन्धित पक्षलाई संस्थाको अवधारणाका वारेमा यथेष्ट जानकारी नहुनु तथा संस्था प्रति लगनशिल नहुनु नै हुन् । जसरी प्रवासी नेपाली पत्रकार संजाललाई विश्वव्यापी नेपाली पत्रकारहरुको साझा फोरमको रुपमा अघि ल्याउने अवधारणा प्रस्तुत गरिएको छ त्यसको यथार्थ अवधारणा प्रवासमा रहेका सवै पत्रकारहरुले अझै पनि वुझ्न सक्नु भएको छैन या त वुझाउने क्रममा हामी चुकेको हौं यसको मुल्याङ्गकन आफैमा हुनु पनि जरुरी छ । साझा संजालको अवधारणालाई विकास गर्नका लागि सवैले साझा अभियान थालेको खण्डमा वा अभियानलाई निरन्तरता दिने वा उर्जा प्रदान गर्न आफैं लागेको खण्डमा संजालको अभियानले सार्थकता अवश्य पाउनेछ र यसका लागि प्रवासी नेपाली पत्रकार संजाल ९भ्ल्व्ल्० सदैव लागि परिरहनेछ ।
प्रवासी नेपाली पत्रकार संजाल आफैंमा पुर्ण संस्था भईसकेको छैन, यो एउटा अभियानको शुरुवात मात्र हो । कुनै पनि अभियानको विस्तार गर्न वा संगठनको विस्तारका लागि एउटा स्टेरिङ्ग कमिटीको आवश्यकता अवश्य पर्दछ त्यहि स्टेरिङ्ग टिमको निर्माण हामीले अक्टुवर २००९ मा गरेका हौं । सो टिमको संयोजन युएईमा कार्यरत जाकिर हुसैनले गर्नुभएको छ भने नेपाल पत्रकार महासंघका सम्पर्क शाखाहरु रहेका देशका शाखाहरुलाई यसको सदस्यको रुपमा अघि सारिएको छ । त्यस्तै अभियानको शुरुवात देखि नै सम्पर्कमा रहेका देशका एकजना प्रतिनिधीलाई यसको पर्यवेक्षकको रुपमा मनोनयन गरि यस संजालको अवधारणालाई विस्तार गर्न थालनी गरिएको छ । संजालमा विभिन्न देशमा कार्यरत नेपाली पत्रकारहरुलाई आवद्ध गराउने अभियान स्वरुप यसको शुरुवात देखि नै विभिन्न देशमा टास्कफोर्स कमिटीहरुको निर्माण गरिएको छ । नेपाल पत्रकार महासंघको सम्पर्क शाखाहरु विस्तार नभएका राष्ट्रका पत्रकारहरुको प्रतिनिधित्व सोहि टास्क फोर्स कमिटीहरुले गर्नेछन् र तिनै टास्कफोर्स कमिटीलाई आगामी दिनमा सकृय वनाउदै मुर्त रुपमा अघि वढाईनेछ । अक्टुवरमा काठमाँडौंमा सम्मेलन आयोजना गर्नुपुर्व नै २१ वटा राष्ट्रमा टास्कफोर्स समिति गठन गरेर आर्थिक, नैतिक, साँगठनिक सहयोग तथा सुझाव संकलन गर्ने कार्य गरिएको थियो र सोहि उर्जाका कारण नै यो संजालको निर्माण सम्भव भएको हो । कुनैपनि अभियानले सफलता पाउनका लागि सवैको सहकार्य अति नै आवश्यक पर्दछ । २१ वटा देशमा गठित यस संजालका टास्कफोर्स कमिटिहरुको कृयाशिलताका कारण यो संजालको गठन साथै विश्व सम्मेलन सम्भव भए जस्तै तिनै टास्कफोर्स कमिटीहरुको कृयाशिलता, निरन्तर कार्यले मात्र यो अभियानको उद्धेश्य हासिल गर्न सकिनेछ । यसका लागि सवैले आफ्नो ठाउवाट कार्य गर्नु अति नै जरुरी छ ।
![]() |
| First Global Seminar & Interaction Program |
हामी प्रवासमा रहेर पत्रकारिता गर्ने नेपाली पत्रकार हौं । सम्पुर्ण नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ नेपालमा कृयाशिल छ र त्यसका विदेश सम्पर्क शाखाहरु नेपाल वाहिर ९ वटा देशमा कृयाशिल छन् । नेपाल पत्रकार महासंघको छातामुनि रहेरमात्र हामी प्रवासी नेपाल पत्रकारहरुको विश्वव्यापि संजाल निर्माण गरिएको छ । हामी प्रवासमा रहेर पत्रकारिता गर्ने नेपाली पत्रकारहरुको पहिचानका लागि पनि नेपाल पत्रकार महासंघ सँगको आवद्धता अति नै अनिवार्य छ । नेपाली पत्रकार भएको नाताले नेपाल पत्रकार महासंघको सदस्यता लिनु वा आफु कार्यरत देशका रहेको सरकारी मान्यता प्राप्त पत्रकारहरुको संगठनको सदस्यता लिनु अति आवश्यक छ । सरकारी मान्यता प्राप्त संस्थाको सदस्यता लिनुको फाईदा भोलीका दिनमा अन्तराष्ट्रिय पत्रकार महासंघको सदस्यता लिन तथा आवश्यक परेको खण्डमा सहयोग लिन सकिनेछ । विश्व भरिका नेपाली पत्रकारहरुलाई यस संजालमा आवद्ध गराउदै नेपाल पत्रकार महासंघको सदस्यता दिलाउनु र नेपाल पत्रकार महासंघको सिफारिसमा अन्तराष्ट्रिय पत्रकार महासंघको सदस्यता दिलाएर विश्व पत्रकारिता जगतमा नेपाली पत्रकारितालाई स्थापित गराउनका लागि यो संजालले पहल गरिरहनेछ । यस कार्यका लागि संजालले सम्पुर्ण प्रवासी नेपाली पत्रकारहरुलाई आह्वान गरिसकेको छ भने पुन यस कार्यमा सहयोग तथा समर्थन गर्नका लागि हार्दिक आग्रह गर्दछ ।
विदेशका विभिन्न देशमा प्रवासिएका नेपालीहरुको गतिविधिका कारण दैनिक सयौं समाचारहरु उत्पादन भईरहेका छन् । ति समाचारहरुलाई मिडियासम्म ल्याएर प्रभावकारी वनाउन अझै पनि सकिएको छैन । नेपाली गतिविधीहरु अत्यन्तै प्रभावकारी छन् तथापी ति गतिविधीहरुको उचित मुल्याङ्गकन हुन सकिरहेको छैन । त्यस्ता गतिविधीहरुको समाचार सम्पे्रषण गर्ने पत्रकारहरुले पनि उचित ठाँउसम्म समाचारहरुलाई सम्पे्रषण गर्न नसकिरहेको आजको यो अवस्थामा सम्पुर्ण प्रवासी नेपाली पत्रकारहरुको समाचारलाई संकलन गरि वितरण गर्ने न्युज वैंकको आवश्यकता छ । सो न्युज वैंकको स्थापना गरि विभिन्न संचार माध्यमलाई समाचार वितरण गर्न सकेको खण्डमा प्रवासको नेपाली पत्रकारितालाई व्यवसायिक रुपमा अघि वढाउनका लागि मद्दत पुग्नेछ । यसका लागि प्रवासी नेपाली पत्रकार संजालले विशेष पहल शुरु गरि प्रवासको नेपाली पत्रकारीतालाई व्यवसायिक रुपमा अघि वढाउनेछ ।
लेखक प्रवासी नेपाली पत्रकार संजालका सचिव तथा नेपाल पत्रकार महासंघ सम्पर्क समिति कतारका अध्यक्ष हुन ।
मितीः १० अगष्ट २०१०


Comments