सिप र पुँजी देशका लागि


  • कुमार कार्की


राजनितिक, आर्थिक अस्थिरताका कारण उत्पन्न वेरोजगारी समस्याले ३० लाख भन्दा वढि नेपालीहरु मुलुक वाहिर सुरक्षित आप्रवासन र रोजगारीका लागि भौतारिरहेको तितो सत्य हामी सामु छ । यो धु्रवसत्य कुरा ईतिहासको कुनै पानामा आदिमकाल सम्म रहनेछ । वैदेशिक रोजगारी र आप्रवासन नेपालीका लागि ठुलो चुनौतीको विषय रहे पनि यसलाई एउटा अवसरको रुपमा अहिलेको पिडिले आत्मसात गर्न सक्नुपर्दछ । वैदेशिक रोजगारी र आप्रवासनको यो समयमा सिकेको सिप र कमाएको पुँजीलाई मुलुकमा स्थानान्तरण गरि रोजगारीको अवसर श्रृजना गर्न र आर्थिक रुपमा समाज र मुलुकलाई लाभ दिनु पर्ने आजको मुख्य आवश्यकता रहेको छ ।


विशेषगरि कतारमा कार्यरत नेपालीहरु र ति नेपालीहरुको हक र हितका लागि कार्य गर्ने संघसंस्थाहरुले अवको उद्देश्य नेपाल र नेपालीप्रति समर्पित गर्नुपर्ने हुन आउछ । प्रवासमा रहेका अधिकांश नेपालीहरु र संस्थाहरु सामुहिक हित र सामुहिक लगानीका कार्यक्रमहरुलाई वढि प्राथमिकता दिईरहेको आजको परिवेशमा त्यसलाई सुरक्षित, मर्यादित र प्रभावकारी वनाउनका लागि नितिगत कुराहरुमा ध्यान दिन सके यसले देशका लागि अवश्यपनि लाभदायी भुमिका खेल्न सक्छ । नेपाल सरकार र गैरआवासिय नेपाली संघ विचको समन्वयमा विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि “एक जिल्ला, एक परियोजना” को अवधारणा विकास गर्नुपर्ने देखिन्छ । त्यसको विभिन्न संघसंस्थाहरु त्यसको सारथी वन्न सक्ने छन् ।


विश्वका गरिव मुलुकहरुको सुचिमा अग्रपंक्तिमा रहेको हाम्रो देश अथाह सम्भावनाहरुका माझ साधन र श्रोतहरुको धनी देश हो । राजनितिक अस्थिरता र स्पष्ट निति अभावका कारण ति साधन र श्रोतहरुको उचित परिचालन नहुँदा आज दिनानुदिन हामी गरिवको सुचिमा रहेको कुरा धु्रवसत्य छ । मुलुक आफैंमा गरिव भएपनि देशका जनता गरिव छैनन् । देश गरिव भएपनि असफल राष्ट्र होईन । तसर्थ सामुहिक भावना र सामुहिक हित आजको आवश्यकता हो । समुहलाई परिचालन गरेर उत्पादनमुलक क्षेत्रमा सिप र पँुजी स्थानान्तरण गर्नसके नेपाललाई गरिवी सुचिवाट उकास्न मद्दत पुग्नेछ ।

विषय र प्रसंगलाई जोडेर कतार कै सवालमा कुरा गर्ने हो भने स्वतस्फुर्त रुपमा स्थापित भएका सयौं समुहहरु भेटिन्छन् । ति समुहहरुसँग सिप र पुँजी दुवै छ । गैरआवासिय नेपाली संघको आह्वानमा सामुहिक लगानीको अवधारणा विकास भएपछि वा सो भन्दा अघिवाट स्थापना भएका समुहहरुले यहाँ सिकेको सिप र पुँजीलाई नेपालमा स्थानान्तरण गरि सामुहिक कार्य गर्न उत्पे्ररित ति समुहहरुलाई उचित मार्ग दर्शन र नितिको वारेमा जानकारी दिनुपर्ने देखिन्छ । त्यसका अलावा कतारमा स्थापित सामाजिक संघसंस्थाहरुले आफ्ना सदस्यहरुको हितलाई ध्यानमा राखी वित्तिय कारोवारलाई अघि सारेका छन् । कतारमा नै परिचालन गरिने यस्ता प्रकृतिका कार्यहरुको मुलुकभित्र सम्भाव्यता अध्ययन गरि ति श्रोत र शक्तिलाई नेपालमा स्थानान्तरण गर्न अव हामीले कन्जुस्याई गर्नु हुन्न । सामुहिक भावनामात्र भएका तर नितिगत रुपमा स्पष्ट हुन नसकेका त्यस्ता समुहरुलाई गैरआवासिय नेपाली संघले सुचिकृत गरि आवश्यक सहयोग गर्ने अवधारणा अघि सारिसकेको छ । त्यसका लागि कतारमा स्थापित संघसंस्थाहरुले वढि भन्दा वढि सहयोगी भुमिका खेल्नुपर्ने हुन्छ ।

प्रवासिएका नेपालीहरुका आफ्नै समस्याहरु छन् । समस्याहरुको समाधान भन्दा पनि समस्या श्रृजना हुन नदिनका लागि आज पहल भईरहेको छ । वेरोजगारी समस्या आफैंमा विकराल समस्या हो तर यसको समाधान हामी आफैंले गर्न सक्ने प्रशस्त अवसर र सम्भावना छन् भन्ने कुरा दिनानुदिन प्रमाणित हुँदै गईरहेका छन् । नेपालमा वेरोजगार युवाहरुको ठुलो जमात छ । ति मध्ये केहि युवाहरु सामुहिक पेशामा संलग्न भई सफलता प्राप्त गरिरहेको हामीले सुन्ने गरेका छौं । त्यसमा प्रवासवाट फर्केकाहरु वढि सफल भएको कुराले पनि चर्चा पाईरहेको छ । त्यसको मुख्य कारण भनेको प्रवासमा रोजगारीका लागि विताएको समयमा सिकेको सिप र त्यसको प्रवन्धमा लाग्ने दक्षता नै हो ।

नेपाल कृषिप्रधान देश हो भन्ने कुरा नाराको रुपमा जनजिव्रोमा झुण्डिएको विषय हो । तथापी कृषिमा आकर्षित जनशक्ति र लगानीको अभाव हामीले झेल्दै आएको तितो सत्य हो । तथापी कृषि सफल र सम्भावना भएको पेशाको रुपमा प्रमाणित भईरहेको छ । नेपालको हावापानी कृषि मैत्री छ । त्यहाँको वजारले कृषि उपजको वढि भन्दा वढि खपत गर्छ त्यसका अलावा निर्यातका लागि पनि प्रशस्त सम्भावनाहरु छन् । हाल आधुनिक कृषिमा आकर्षित युवाहरु वढिरहेको तथ्याङकहरु सार्वजनिक भईरहेको हामीले पाएका छौं । विदेशवाट फर्किनेहरुले कृषि व्यवसायमा पाउदै गरेको सफलता हाम्रो लागि पे्ररणाको श्रोत हो । कतारको हकमा यहाँको रोजगारीलाई विट मारेर फर्केका युवाहरुद्धारा झापा, मोरङ्ग, सुनसरी, ईलाम, चितवन, कास्की, तनहुँ, स्याङ्गजा, काठमाण्डौ लगायतका क्षेत्रमा भईरहेका कृषि व्यवसायहरुले सफलता हासिल गर्दै आईरहेका छन् । हामीले पनि ति युवाहरुको जोश र जाँगरलाई साथ दिई गर्न चाहने जनशक्तिलाई मुलुक फर्काउनु जरुरी छ । यसको अग्रणि भुमिका कतारमा रहेका संघ संस्थाहरुले खेल्न सक्छन् ।

रोजगारीका लागि विदेशिएका अधिकांश जनशक्तिहरुको मुख्य आकर्षण सेवामुलक रोजगारी हो । यसवाट नेपालीहरुले आयआर्जन मात्र गरेका छैनन्, आधुनिक जमानाको सिप सिकेका छन् । त्यो आधुनिक सिप नेपालका लागि पुँजी भन्दा ठुलो शक्तिको रुपमा रहेको छ । त्यसको उचित व्यवस्थापन गरि नेपालको पर्यटन, हवाई, शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि लगायत नेपालको वातावरण सुहाँउदो सेवामुलक व्यवसायमा परिचालन गर्न सकिन्छ ।

विदेश आएका नेपालीहरु परिवारको गर्जो टार्न आएका हुन्छन् र कतिपय अवस्थामा त्यो गर्जो टारेर वचेको रकमको सहि सदुपयोग नभईरहेको अवस्था छ । अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गरि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर सेवा र रोजगारी दुवैको श्रृजना गर्नु अपरिहार्य भएको । अल्पकालिन र दिर्घकालिन २ प्रकारका योजनाहरुलाई अघि वढाउनुपनि उत्तिकै आवश्यक छ । किनभने विदेशिएको व्यक्तिले नोकरी छोडिसकेपछि उसले तत्काल आम्दानीको वाटो खोज्नुपर्ने हुन्छ । त्यसका लागि अल्पकालिन व्यवसायिक योजनाहरुले त्यो खाँचो टार्न सक्छ । साथै सोहि पुँजीको केहि भागलाई दिर्घकालिन योजनामा लगानी गरेर भावी पिंडिका लागि रोजगारी सुरक्षित गर्न सकिनेछ । यि कुरालाई मध्यनजर गर्दै सरकारी क्षेत्रवाट आफ्ना जनशक्तिको समुचित परिचालन गर्न कन्जुस्याई गर्नु हुन्न । सरकारले लगानी मैत्री वातावरण श्रृजना गर्न सक्ने र लगानीको सुरक्षा मात्र गर्ने हो भने देशलाई व्यवसायिक रुपमा अघि वढाउन विदेसिएका युवाहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरामा दुईमत छैन ।


नेपाली जनसम्पर्क समिति कतारद्धारा प्रकाशित स्मारिकाको लागि मितिः २५ जनवरी २०१४ मा लेखिएको ।

Comments

Popular posts from this blog

महामारी र मौका — तयारी गर्ने कि?

वहराईन भेला : अनुभव र पाठ

‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई