नजिकको परिवेश
- कुमार कार्की
- ९ दिसेम्वर २०१६, दोहा (अनेसास नवोदित ६४ औं वाचन श्रृङ्खलामा वाचित । )

एक जना कवि दाई
एक ग्लास सोमरस
एकै सासमा स्वाट्ट पार्छन्
अनि लेख्छन फेसवुक स्ट्याटस्
“पुर्व पे्रमिकाका नाममा पिए” ।
एकहुल शुभ चिन्तकहरु
ताली वजाउछन्
र भन्छन्
तिमिले पियौ हामिले जियौं
तिमि हारे हार हामी जितीरहन्छौं ।
अवोध शुभचिन्तकहरुलाई के थाहा
ति कवि दाई
पिउने हरेक वहाना खोज्छन्
उत्ताउलो पारामा, अरुलाई उरिल्याउछन्
र
आफु सधैं सावधान रहन्छन् ।
मेरा केहि मान्यवरहरु,
केहि आफन्तहरु
केहि सहयात्रीहरु
कालोलाई सेतो र सेतोलाई कालो देख्छन् ।
र लगाउछन् नारा विना पर्वाह
एकले अर्कोलाई उदांगो पारुन्जेल,
चाहे भड्कियोस् सामाजिक सद्भाव
वा
चाहे हराओस् सामाजिक नैतिकता ।
मेरो राजधानीवाट
दक्षिण तिर ससुराली पट्टिका दाई,
पश्चिम तिरका अर्का कुटुम्वेरी दाई
र
सुदुरपश्चिम तिरका काकाका पर्ने भतिज
सामाजिक संजालमा हंगामा गर्छन्
उदांगो पार्छन् , एक अर्कालाई
वर्ण विन्यासको मधुरता विना
लाग्छ अव देखाउन केहि वाँकी नै छैन ।
कहिलेकाँहि यस्तो लाग्छ
तिनिहरु आपसमा भेटिए भने
महा प्रलय हुनेछ
पृथ्विको अन्त्य हुनेछ ।
तर कुनै दिन,
साँझ सँगै मात्तिएको भेट्छु
रंगिएको देख्छु ।
रसरागले रिसराग मेटेको देख्छु
तर विहानको मिर्मिरेमा
खै घाम के वोकेर आउछ कुन्नी
शव्दका वुलेटहरु
सामाजिक संजालभरि पड्किन थाल्छन्
लाग्छ वरिपरिका सवैलाई सखाप पार्नेछ ।
समाज धेरै परिवर्तन भईसक्यो
नचाहेर पनि भई नै सक्यो
एकले अर्कोको कुरा नकाटे
एकले अर्कोलाई नढाँटे
विना कसुर
लड्ने लडाउने खेल नखेले
यहाँ मान्छ,े मान्छे गनिदैन ।
एकथरि मेरा सहयात्रीहरु
हिजो पनि मान्दैन थे,
आज पनि मान्दै मान्दैनन्
र
कालान्तर सम्म मान्ने छैनन्
धरोहरहरु भत्काएर
आफ्नै चिहानको साँक्षी वस्ने कुरो ।
कवि दाई, अर्को घुड्की लगाउछन्
र भन्छन्, नजिकैको भाईलाई
तिमि पहिचान विनाको मान्छे
न कुनै हुलको वकुल्ला
न त कुनै वथानको मृग ।
हो यस्तै छ मेरो नजिकको परिवेश ।
म वरिपरिको भुगोल र देश ।
धन्यवाद ।
Comments